
झापा – मेची राजमार्ग अन्तर्गत बागडाँगीबाट उत्तर सितागढी हुँदै बालुबाडी–हल्दिबारी–बिर्तामोड सडक विस्तारको काम चार वर्ष बितिसक्दा पनि एकचौथाइ मात्र सम्पन्न भएको छ।
२०७८ कार्तिक ७ गते जे भी पार्टनरलगायतका निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको यस आयोजनाको काम २०८० असोज १८ गतेभित्र सम्पन्न गर्ने योजना थियो। तर, तोकिएको म्याद सकिँदा पनि काम सुस्त गतिमा मात्र अगाडि बढिरहेको स्थानीयवासीले गुनासो गरेका छन्।
आईतबार हल्दिबारीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राई, उद्योग पर्यटन तथा वन मन्त्री भूमी राजबंशी, प्रदेश सांसद छवि चुडालसहित विभिन्न स्थानीय तहका प्रमुख–उपप्रमुख, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो।
हल्दिबारी गाउँपालिकाका अध्यक्षले प्रदेश सरकारको बजेटमा काम ढिलो हुने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै भने, “हामीले स्थानीय तहमै थुप्रै ठेक्का लगाएका छौँ र समयमा नै सम्पन्न गरेका छौँ। तर प्रदेशस्तरका काम ढिलासुस्ती हुन्छन्। अनुगमन गर्नै आउँदैनन्, त्यसैले यस्तो अवस्था आउँछ। सकिन्न भने त्यो बजेट स्थानीय तहलाई दिनुस्, हामी समयमै काम सम्पन्न गर्छौं।”
निर्माण व्यवसायीहरुले यसअघि बैसाख महिनामा पूर्वाधार विकास कार्यालयलाई असार मसान्तसम्म ३.५ किलोमिटर सडक कालोपत्रे गर्ने र अन्य काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। प्रतिवद्धता पालना नगरे बैंक ग्यारेन्टीसमेत जफत गर्नुपर्ने सहमति भएको थियो। तर हालै व्यवसायीहरुले सहज वातावरण नभएको कारण देखाउँदै काम अगाडि बढाउन नसकिएको भन्दै पत्र पठाएका छन्।
सुनुवाइका क्रममा ढिलासुस्तीप्रति स्थानीय बासिन्दा आक्रोशित बनेपछि प्रहरीले शान्ति–सुरक्षाको व्यवस्था मिलाउनु परेको थियो।












प्रतिक्रिया