समाचार

रन्जिलाको प्रेरणा उपन्यास बिमोचन


३२ श्रावण २०८२, शनिबार, ,


  1. झापा । रञ्जिला लिम्बुद्वारा लिखित पहिलो कृति “प्रेरणा” उपन्यासको  विमोचन भएको छ ।

सतासी साप्ताहिक खबर पत्रिकाको आयोजनामा सम्पन्न कार्यकममा प्रमुख अतिथिसमेत रहेका प्राज्ञ श्रवण मुकारुङले लेखकको जीवन मेटिए पनि कृति र सिर्जना कहिल्यै नमेटिने भन्दै लेखिकालाई निरन्तर लेखनमा सक्रिय रहन शुभकामना दिएका थिए । शिवसताक्षी नगरपालिकामा नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन) को विशिष्ट आतिथ्यता तथा साहित्यकारहरू प्रकाश बुढाथोकी, शिवशंकर थापा, केशव आचार्य, बालचन्द्र सुब्बा, कृष्ण बराल तथा शिवसताक्षी नपा वडा नं. ९ का वडाध्यक्ष डिल्लीलाल फेम्बू विशेष अतिथि रहेका थिए । उपन्यासमा समाजमा गहिरिँदै गएको लागूपदार्थ दुरुपयोग र त्यसले निम्त्याएको त्रासदीय अवस्थालाई मार्मिक ढंगमा चित्रण गरिएको उनीहरुले बताए । त्यस्तै उपन्यासमा अभिभावकको बेवास्ता, युवामा बढ्दो प्रलोभन, मित्रताको नाममा हुने गलत बाटोप्रतिको आकर्षण, प्रेम प्रस्ताव गर्न सक्ने आत्मविश्वास नहुनुजस्ता जीवन्त सामाजिक यथार्थलाई कथामा उतारेको बताइएको छ ।कार्यक्रममा सतासी साप्ताहिक खबर पत्रिकाका सञ्चालक समिति अध्यक्ष योगेन लावतीले स्वागत मन्तव्य तथा नगर प्रमुख मेघाहाङ थोप्राले शुभकामना मन्तव्य राखेका थिए भने लेखिका रञ्जीला लिम्बूले उपन्यास लेखाइका क्रममा भोगेका भोगाइ तथा कृतिका सम्पादक सेलिङ केसीले कृतिको यो समाजमा आवश्यकताको बारेमा बोलेका थिए ।उक्त कार्यक्रममा कवि–साहित्यकारहरू केशव आचार्य, कविता राई “गाउँले”, राजकुमार सुब्बा “अनिश्चित”, चन्द्र सम्वाहाम्फे, रूमानी कुलुङले कविता तथा गजल वाचन गरेका थिए ।साहित्यकार, लेखकहरूको उल्लेखीय उपस्थिति रहेको कार्यक्रममा “किसान कवि” विराट किरातीको अध्यक्षतामा कार्यक्रम सञ्चालन लीला अनमोलले गरेकी थिइन् । सो पुस्तक स्रष्टा पब्लिकेशनले बजारमा ल्याएको हो ।

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार, ,