मेचीनगर– मेचीनगर नगरपालिकामा दुई महिलामा जापानी इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ । नगरको स्वास्थ्य शाखाले वडा नं. ३ र ५ की दुई महिलामा सङ्क्रमण देखिएपछि रोगको रोकथाम तथा नियन्त्रणका लागि तयारी थालिएको जनाएको छ ।

उनीहरूमध्ये एक जनालाई जुलाई १ र अर्कीलाई जुलाई १४ मा सङ्क्रमण देखिएको थियो । दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गरिएको थियो ।

स्वास्थ्य शाखाका अनुसार एक महिला उपचारपछि घर फर्किसकेकी छन् भने अर्की एक महिलाको उपचार जारी छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको बैठकमा विश्व स्वास्थ्य सङ्गठन की प्रतिनिधि डा. सोनिया भगतले सङ्क्रमण पुष्टि भएको जानकारी गराएकी थिइन् ।
बैठकमा डा. भगत, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी र प्रादेशिक अस्पताल भद्रपुरकी डा. संगीता साहले रोगका लक्षण र बच्ने उपायबारे समुदायमा सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेलले स्वास्थ्यकर्मीलाई घरदैलो अभियानमार्फत सचेतना फैलाउन र लक्षण देखिएका बिरामीलाई तुरुन्त स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न निर्देशन दिए ।
गत वर्ष मेचीनगर-७ मा यही रोगका कारण एक जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार यसअघि नेपालमा यो रोगबाट करिब २५ जनाको ज्यान गइसकेको छ ।












प्रतिक्रिया