अर्थ / वाणिज्य

मेचीनगरमा झोलुङ्गे पुल निर्माण


१६ श्रावण २०८२, बिहिबार, ,


मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु.चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको रहेको छ । पुलले उक्त वडाको सदरमुकाम विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।

उक्त स्थानमा कुनै पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटर उत्तरमा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दूरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद् विश्वप्रकाश शर्मा र कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले २०७९ सालमा पुलको संयुक्त शिलान्यास गरेका थिए ।
थानी कन्स्ट्रक्सन प्रालिका ईन्जिनियर शेखर रायमाझीले पुलको निर्माण कार्य सम्पन्न भएको बताए । उद्घाटन हुन बाँकी रहे तापनि स्थानीयबासीले पुलको प्रयोग गर्न थालिसकेका छन् ।

प्रकाशित : १६ श्रावण २०८२, बिहिबार, ,